- प्रीन्स याक्खा
लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ ।
३० अगष्ट २०२५ का दिन भएको कार्यक्रम आस्फोर्ड, केन्टस्थित सिमोन चर्च हलमा सम्पन्न भएको हो ।
याक्खा छुम्मा युकेका अध्यक्ष वुद्विराज लिम्बुखिमको अध्यक्षतामा आयोजित कार्यक्रममा छुम्मा केन्द्रिय अध्यक्ष भूपाल सिंह जिमी प्रमुख अथिति रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिमीले आफ्नो युकेको पहिलो यात्रामा नै ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
उनले यूकेको व्यस्त जीवनका वाबजूद भव्य कार्यक्रम आयोजना गरेकोमा किरात याक्खा छुम्मा यूकेको सराहना गरे । ’पूर्खाहरुले जोगाएर राखिदिएको हाम्रो मौलिक हक अधिकार हालको परिप्रेक्ष्यमा राज्यसत्ताबाट दिनानुदिन क्षय गर्ने कार्य भइरहेको छ । यसका बिरुद्व छुम्मा डटेर लागि रहेको छ’, जिमीले भने ।
छुम्मा युकेका उपाध्यक्ष सन्तराज पाम्फूले स्वागत गरेको कार्यक्रममा महासचिव रामकृष्ण जिमिले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हेल्थ एण्ड सेफ्टिको ब्रिफिङ गराएका थिए । सचिव राजकुमार खायाखिमले अनौपचारिक कार्यक्रम सन्चालन गरेका थिए ।
शिवचन्द खाम्याङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमामा धनकुमारी कोम्फे याक्खालाई संस्थाप्रति पुर्याएको योगदानको कदर गर्दै कदरपत्रले सम्मान गरिएको थियो ।
त्यस्तै विभिन्न विश्वविद्यालय बाट अध्ययन पूरा गर्ने याक्खा परिवारका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै भरखरै संस्थाको आजीवन र नयाँ सदस्यता लिने सबै सदस्यहरुलाई खादा ओडाएर स्वगात गरिएको थियो ।
रामकृष्ण, शीवचन्द, श्री, नेत्र, दिलिप, हेमराज ,धनकुमारी, सबिना, सजना र इशा याक्खाले जातीय संस्कार र संस्कृति झल्काउने केई लाक (च्याब्रुङ नाच) प्रस्तुत गरेका थिए भने याक्खा जातिको मौलिक साङराङदाङ्मा (डोकेनी नाच) समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कला चेम्जोङ र अमृत गुरुङले आफ्नो गायन प्रस्तुति मार्फत सबैलाई मन्त्रमुग्ध बनाएका थिए भने सेमिका,आसिका, सोफिया , रविन, आशिष, गुल्सनलगायतले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राइफल ड्रले थप रोमाञ्चकता थपेको थियो ।