
माङसेबुङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ कोलबोटेस्थित मनोहर आधारभूत विद्यालयले किरात राई समुदायको पहिरनलाई विद्यालय पोशाकको रूपमा हप्ताको दुई दिन प्रयोग गर्न शुरू गरेको छ ।
विद्यालयमा आइतबार र शुक्रबार राई पहिरन प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक राईले जानकारी दिएका छन् । किरात समुदायको चाड उधौली पर्वका अवसरमा मंसिर १६ गते आयोजित एक कार्यक्रममा मिक्लाजुङ गाउँपालिकका अध्यक्ष बबीकुमार राईले ५० जना विद्यार्थीलाई पोशाक वितरण गरेका थिए ।

विद्यार्थीहरूलाई निःशुल्क राई पहिरन वितरण गर्न अभिभावक तथा शुभेच्छुकहरूले एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । राई विद्यार्थीहरूको बाहुल्यता रहेको यस विद्यालयमा स्थानीय पहिरन संरक्षण गर्न राई समुदायको पहिरन विद्यालय पोशाकको रूपमा प्रयोग गरिएको प्रधानाध्यापक कुशलचन्द माझीले बताए ।
विद्यालयमा स्थानीय पोशाक प्रयोगलाई निरन्तरता दिन आउँदा वर्षमा गाउँपालिकाले बजेट व्यवस्था गर्ने अध्यक्ष राईले प्रतिवद्धता जाहेर गरेका छने । विद्यालयमा स्थानीय परिहन प्रयोगले संस्कारसहितको शिक्षा प्रदान गर्ने कार्यमा सहयोग पुगेको गाउँपालिका शिक्षा प्रमुख काशीनाथ खनालले बताए ।

उधौंली पर्वको अवसरमा राई समुदायको मौलिक नृत्य साकेला र मौलिक खाना बाचिपा वितरण गरिएको थियो ।





