
माङसेबुङ । २०६२–६३ मा ऐतिहासिक जनआन्दोलन २ सफल भएपछि नेपाली राजनीतिमा अधिकार र पहिचान निम्ति थुप्रै आन्दोलनहरु भए । यी मध्येको एक हो ‘लिम्बुवान आन्दोलन’ । आदिवासी पहिचान र अधिकारका निम्ति भएको सो आन्दोलन दुई दसकपछि धेरैले बिर्सदैं गएका छन् । तर, लिम्बुवान आन्दोलनलाई स्मरण गराउने ‘पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलन लिम्बुवान आन्दोलन’ नामक पुस्तक भर्खरै प्रकाशनमा ल्याएका छन्, मन कुमार लिम्बू(आङबुहाङ अबोध अविरल) ले ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा गत मंसिर १९ गते धर्मगुरु तथा गुरुआमा ज्यूहरुको हस्तबाहुलीबाट विमोचन गरिएको यो कृति लिम्बुवान आन्दोलन र विभिन्न विधामा कलम चलाउदै आएका आङबुहाङको पहिलो कृति हो ।

आङबुहाङले जनआन्दोलनपछि किन लिम्बुवान आन्दोलन उठ्नका कारणहरु खोज गरेका छन् । लिम्बुवान आन्दोलन गर्ने राजनीतिक दल र सामाजिक संस्थाहरु र उनीहरुका मागहरुलाई मिहिन अध्ययन गरेका छन् । लिम्बुवान आन्दोलनका क्रममा गरिएका आन्दोलनका गतिविधिहरुलाई चर्चा गरेका छन् । यसैगरी लिम्बुवान आन्दोलनका मागहरु पूरा नभएपनि यसले राजनीतिक, भाषिक र सांस्कृति क्षेत्रमा पु¥याएको सकरात्मक प्रभावलाई उनले सबिस्तार व्याखा गरेका छन् ।
पुस्तकमा आङबुहाङले लिम्बुवान प्राप्ति नहुनका कारणहरु र लिम्बुवान आन्दोलनका कमजोरीहरु फरक ढंगले बिष्लेषण गरेका छन् । आङबुहाङको अनुसन्धनात्मक पुस्तक जनआन्दोलन २ पछि उठेको लिम्बुवान आन्दोलनको संक्षिप्त इतिहास हो । माङसेबुङ पब्लिकेशन एण्ड मेडिया प्रालिले प्रकाशन गरेको पुस्तको मूल्य २५० रुपैया रहेको छ ।







