निर्देशक सागर केरुङ ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ बाट सम्मानित - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्देशक सागर केरुङ ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ बाट सम्मानित

काठमाडौँ । चलचित्र लेखक तथा निर्देशक सागर केरुङ ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ बाट सम्मानित भएका छन्।

शनिवार धरानमा सम्पन्न ‘अन्तर्राष्ट्रिय याक्थुङ् सिने अवार्ड २०८२’ समारोहमा याक्थुङ् चलचित्रकर्मी संघद्वारा आयोजित कार्यक्रममार्फत उनको लघु चलचित्र ‘तङ्सिङ्’ का लागि उक्त प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

विगत दुई दशकभन्दा बढी समयदेखि चलचित्र निर्माण र निर्देशनमा सक्रिय रहँदै आएका केरुङ लिम्बू भाषाका सशक्त र प्रभावशाली चलचित्रकर्मीका रूपमा परिचित छन् । उनले हालसम्म ‘चे’, ‘पुङ्साम’, ‘के’, ‘तङ्सिङ्’, ‘तुम्याहाङ्’, ‘के–२’ लगायत दर्जनौँ लिम्बू भाषाका चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छन् । उनका चलचित्रहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न महोत्सव र अवार्ड समारोहहरूमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् ।

केरुङले आफ्नो जातीय अस्तित्व, भाषा, संस्कृति र सामुदायिक पहिचानका विषयलाई चलचित्रमार्फत सशक्त रूपमा उठान गर्दै आएका छन् । यही कारण उनी कुशल र प्रतिबद्ध आदिवासी चलचित्रकर्मीका रूपमा चिनिन्छन्। उनले हालसम्म दुई दर्जनभन्दा बढी चलचित्रको स्क्रिप्ट लेखिसकेका छन्, जसले आदिवासी कथावस्तुलाई कलात्मक र सन्देशमूलक ढङ्गले प्रस्तुत गरेको छ ।

गत वर्ष मात्रै केरुङ चलचित्र विकास बोर्डद्वारा प्रदान गरिने विशेष चलचित्र सम्मान तथा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवद्वारा उत्कृष्ट निर्देशक अवार्डबाट सम्मानित भएका थिए, जसले उनको सिर्जनात्मक यात्रालाई थप उचाइ दिएको छ ।

उनको निर्देशनमा बनेको चलचित्र ‘चे’ हाल हङकङ, दक्षिण कोरिया, युएइ, साउदी अरब, युनाइटेड किङडम, अमेरिका तथा युरोपका विभिन्न देशहरूमा विशेष प्रदर्शन भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा भइरहेको यस प्रदर्शनले लिम्बू भाषा र आदिवासी कथावस्तुलाई विश्वमञ्चमा पुर्‍याउने महत्वपूर्ण काम गरेको छ ।

निरन्तर सिर्जनशीलता, सांस्कृतिक प्रतिबद्धता र कलात्मक यात्राका कारण सागर केरुङ नेपाली आदिवासी चलचित्र क्षेत्रका अग्रणी नामहरूमध्ये एकका रूपमा स्थापित हुँदै गएका छन् l।

सम्बन्धित खवर