मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ७० औं शुभजन्मोत्सवको तयारी पूरा - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ७० औं शुभजन्मोत्सवको तयारी पूरा

माङसेबुङ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोहको तयारी पूरा भएको छ ।

विगतका वर्षझैं यस वर्षपनि इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमामाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो ।

जन्मोत्सव कार्यक्रमको तयारी पूरा भएको मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना सेवा महासमारोह समितिका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जनाएको छ ।

जन्मोत्सव महासमारोहका अध्यक्ष योङहाङका अनुसार साक्मुरा वादेम्मा र येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भइसकेको छ । भने, पवित्रहाङमा गोल्डकपको फाइनलसँगै पुरस्कार वितरण कार्यक्रम पनि शनिबारनै सकिएको छ ।

नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आज सम्पन्न भएको महासमारोह खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताएको छ ।

महासमारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन १ गते साक्मुरा वादेम्मा सेवा र आज २ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सम्पन्न भइसकेको छ ।

कार्यक्रम अन्तर्गत भोलि ३ गते आइतबार प्रमुख अतिथिबाट नुमाङगेन्ना सेवा महासमारोह समुद्घाटन, पवित्रहाङमा साहित्य पुरस्कार वितरण, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महासमारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट किरात साम्जीक मुन्धुम वाचन हुने महासमारोह अध्यक्ष योङहाङको भनाई छ ।

समारोहका अध्यक्ष योङहाङका अनुसार विगतका वर्षझै यस वर्ष पनि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ । नुमाङगेन्ना सेवाको अवसरमा यस प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि महासमारोहले व्यवस्थापन गरिएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत फागुन ४ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ ।

महासमारोहका सांस्कृतिक विभाग संयोजन तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार फागुन ३ र ४ गते साँझ बृहत सांस्कृतिक कार्यक्रमसँगै पवित्रहाङमा पालाम इक्ला प्रतियोगिता सञ्चालन हुने छ । भने फागुन ५ गते विदा हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर