
काठमाडौं । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शुक्रबार गठित बालेन नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले गृहमन्त्रीमा सुधन गुरुङ, र परराष्ट्रमन्त्रीमा शिशिर खनाल छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, पर्यटन तथा नागरिक उड्यनमन्त्रीमा गणेश पौडेल, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा सुनिल लम्साल, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी रहेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा सोबिता गौतम, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा विक्रम तिमिल्सिना छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।







