संगीत कहिल्यै नमर्ने साधना हो : सुनिता लावती - Mangsebung News
  • बिहिबार, जेठ ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संगीत कहिल्यै नमर्ने साधना हो : सुनिता लावती

भनिन्छ, संगीत कसैलाई सिकाएर मात्र आउँदैन । त्यो त बाल्यकालदेखि नै मनभित्र गुनगुनाइरहेको आत्माको भाषा हो । त्यहीँ आत्मिक गुनगुनाहटलाई आफ्नो जीवनको बाटो बनाएर गीत संगीतको दुनियाँमा उडान भरेकी प्रतिभा हुन् गायिका सुनिता लावती ।

गायिका सुनिता लावतीलाई ठ्याक्कै कहिलेदेखि गीत गाउन थालिन् भन्ने कुरा स्वयंम उनीलाई पनि स्पष्ट सम्झना छैन । तर, स्कूल जीवनदेखि नै गीत संगीतप्रति उनको विशेष झुकाव भने थियो । ‘स्कूल देखिनै गीत संगीतलाई प्राथमिकता दिन्थे’ उनी भन्छिन् ।

उनको औपचारिक संगीत यात्रा नेपाली गीतबाट रेकर्डिङ सुरु भयो । ‘गोधुली साझ्मा’ उनको पहिलो रेकर्ड गरिएको गीत हो । त्यसपछि उनले निरन्तर अभ्यास र मेहनतलाई निरन्तरता दिँदै थुप्रै गीतहरू रेकर्ड गरिसकेकी छन् । ‘जुन तारा राम्रो आकाशमा’, ‘हौ फोक्वामे’ (लिम्बू गीत), ‘चिरिएको छाती’, ‘इलाम बजारमा’, ‘ओत माङे सेवारो माङे साम्लो’, ‘सिमेरिङ’ लगायतका गीतहरूमा आवाज दिइसकेकी सुनिताको संगीत यात्रामा परिवार नै पहिलो प्रेरणाको स्रोत हो । परिवारको माया, भरोसा र साथले उनलाई निरन्तर अघि बढ्न हौसला दिएको छ । त्यसका साथै गायक तथा संगीतकार गगन प्रकाश लावतीबाट पनि धेरै प्रेरणा पाएको बताउँछिन् ।

‘संगीत कहिल्यै नमर्ने साधना हो’ सुनिता भन्छिन्, ‘संगीत केवल मनोरञ्जन मात्र होइन, संगीतलाई मैले संसारकै एउटा शक्तिका रूपमा चिनेकी छु ।’ उनी भन्छिन्, ‘संगीतमा बाँच्न सकिन्छ तर त्यसका लागि अपार मेहनत, लगनशीलता र धैर्यता हुनुपर्छ ।’

पछिल्लो समय लिम्बू भाषाको गित ‘चाल्फेम्बा हेक्के’ सार्वजनिक गर्ने तयारीमा रहेको सुनिताले आफ्नो संगीत प्रशिक्षण संगीत गुरु मण्डल साम्पाङ राईबाट सुरु गरेकी हुन् । हाल पनि उनी राईसँगै नियमित प्रशिक्षण लिइरहेकी छन्, जसले उनको गायनलाई थप परिष्कृत बनाउँदै लगेको छ । गीत लेखनमा पनि हात हाल्ने योजना बुनिरहेकी सुनिता भविष्यमा समेत गीत संगीतलाई निरन्तरता दिंदै पहिलो प्राथमिकता राख्ने बताउँछिन् । व्यवसायलाई दोस्रो प्राथमिकता दिने उनको योजना रहेको छ ।

रियालिटी शो ‘याक्थुङ फक्ताङ्लुङ आइडल’ मा सहभागी हुँदाको अनुभवलाई उनी मिठो अनुभूतिका रूपमा सम्झिने सुनिता त्यो मञ्चले उनलाई आत्मविश्वास, अनुभव र पहिचान सबै दिएको स्वीकार्छन् । उनी ‘याक्थुङ फक्ताङ्लुङ आइडल सेक्फुङ–३’ का टप १० फाइनलिष्ट समेत हुन् । २०५५ साल भदौ २७ गते पाँचथर जिल्लाको यासोक, कुम्मायक–१ मा जन्मिएकी सुनितालाई पारिवारिक सहयोग अत्यन्तै बलियो आधार बनेको छ । यहीँ साथले उनलाई आत्मविश्वासका साथ आफ्ना सपना पछ्याउन प्रेरित गरिरहेको छ ।

प्रेमबारे उनको बुझाइ पनि सरल र यथार्थपरक छ । ‘प्रेम एउटा आभास हो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘तर म त्यस्तो गहिरो प्रेममा भने परेकी छैन ।’ निरन्तर अभ्यास, परिवारको साथ र संगीतप्रतिको गहिरो आस्थाले गायिका सुनिता लावतीको यात्रा अझै लामो र उज्यालो देखिन्छ । स्वरको साधनाबाट आफ्नो पहिचान बनाउँदै अघि बढिरहेकी याक्थुङ मौलिक तथा नेपाली गीत–संगीतप्रति समर्पित सुमधुर आवाजका धनी गायिका सुनिता लावतीको संगीत यात्रा भविष्यमा अझ खास र सार्थक बन्दै जाओस् लुङमेन्दीङ नोनिङ्वा ।

प्रस्तुति : आन्छुमे नसान

सम्बन्धित खवर