लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न - Mangsebung News
  • आइतबार, जेठ ३१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न

काठमाडौँ । एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । आइतबार ललितपुरस्थित दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा ‘लिम्बू चलचित्र विमर्श’ कार्यक्रमसँगै समापन कार्यक्रम गरिएको हो ।

चलचित्र विकास बोर्ड र याक्थुङ मुन्चइत चोक सयङको आयोजनामा सम्पन्न कार्यशालालाई वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बा र मानवशास्त्री एवं मुन्धुम अध्येता डीबी आङबुङले सहजीकरण गरेका थिए ।

गत जेठ २५ गतेदेखि सञ्चालन भएको कार्यशालामा ‘याक्थुङ सभ्यता, मुन्धुम, मौलिक संस्कृति र चलचित्र सिर्जनाबीचको अन्तरसम्बन्धलाई केन्द्रमा राख्दै चलचित्र निर्माणका विविध सैद्धान्तिक, प्राविधिक तथा सिर्जनात्मक पक्षहरूमा प्रशिक्षण प्रदान गरिएको’ सयङका संघीय अध्यक्ष सागर केरुङले बताए ।

याक्थुङ चलचित्रको कथ्य संरचना, मुन्धुमी कथा प्रस्तुति शैली, पूर्वीय तथा पश्चिमी कथानक संरचना, अभिनय कला, लिम्बू कथा तथा चरित्र निर्माणजस्ता महत्वपूर्ण विषयहरूमाथि अध्ययन, छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको बताइएको छ ।

यस क्रममा पूर्वीय अभिनय पद्धति, पश्चिमी अभिनय पद्धति र लिम्बू अभिनय शैली, लिम्बू चरित्र निर्माण, चरित्रको आन्तरिक तथा बाह्य द्वन्द्व, चरित्र विकास, अवरोध तथा रूपान्तरणका पक्षहरूमा समेत गहिरो अभ्यास गरिएको निर्देशक एवं उक्त संस्थाका सल्लाहकार नवीन सुब्बाले बताए ।

लिम्बू चलचित्रमा दृश्य भाषा, द्वन्द्वको विकास, द्वन्द्वका तहहरू तथा कथालाई प्रभावकारी बनाउने संरचनात्मक पक्षहरूमाथि प्रशिक्षण प्रदान गरिएको संस्थाका सचिव सृजना निङलेकुले बताइन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासंघका संघीय उपाध्यक्ष अमृत सुनुवार, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भूइसल लामा, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष निरन्ति तुम्बापो, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक नवीन सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चलचित्र समालोचक गुरुङ सुशान्त, नेपाल प्रहरीका पूर्व आइजीपी चन्द्र कुबेर खापुङ, नेपाली सेनाका पूर्व जर्नेल होम कुमार लावती, किरात राई चलचित्रकर्मी संघका महासचिव किरण राई, मगर चलचित्रकर्मी संघका अध्यक्ष विश्वास मगर, तामाङ चलचित्रकर्मी संघका उपाध्यक्ष उत्तर लामा, थारू चलचित्र तथा सांस्कृतिक संघका उपाध्यक्ष गुन्जा चौधरी, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका महासचिव इगी होपो कोइच सुनुवार, माझी चलचित्रकर्मी संघका महासचिव अमृता माझी, भुजेल चलचित्रकर्मी संघका उपाध्यक्ष पावन भुजेल, नेवा फिल्म सोसाइटीका कोषाध्यक्ष सुनिता श्रेष्ठ, राजवंशी चलचित्रकर्मी समाज समितिका महासचिव अरविन्द विश्वास, आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशका सचिव नेत्र भुजेल, किरात याक्थुङ चुम्लुङ ललितपुरका अध्यक्ष शुभराज थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ भक्तपुरका दिपेन्द्र आङदेम्बे, किरात याक्थुङ चुम्लुङ काठमाडौंका सचिव भीष्म योङहाङ, याक्थुङ मुन्चइत चोक सयङ हङकङका सचिव सुक्मिता केरुङ, चलचित्र विकास बोर्डका सहायक खरिदार सम्झना दाहाललगायत चलचित्रकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर