इलाम नगरपालिका विकाससँगै सुशासनमा पनि अब्बल बन्दै - Mangsebung News
  • आइतबार, असार १४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाम नगरपालिका विकाससँगै सुशासनमा पनि अब्बल बन्दै

 

ज्ञानु केदेम लिम्बू

 

इलाम/स्थानीय सरकारको सफलता केवल बजेटको आकार वा भौतिक पूर्वाधारको विस्तारले मात्र मापन नहुने इलाम नगरपालिकाले सन्देश दिएको छ । इलामले आफ्नो कार्यसम्पादन, वित्तीय अनुशासन, सेवा प्रवाह र संस्थागत क्षमताका आधारमा राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाएको छ ।

 

राष्ट्रिय मूल्याङ्कनका विभिन्न सूचकमा प्राप्त उपलब्धिले देशभरका ७ सय ५३ स्थानीय तहमध्ये इलाम नगरपालिकालाई पनि उत्कृष्ट स्थानीय तहको सूचीमा समावेश गरेको छ । यसरी उत्कृष्ट स्थानीय तहको सूचीमा समावेश हुँदै आएको इलाम नगरपालिकाले पछिल्ला वर्षहरूमा प्राकृतिक सौन्दर्यभन्दा पनि सुशासन, उत्तरदायी प्रशासन, प्रभावकारी सेवा प्रवाह र विकास व्यवस्थापनमा विशेष ध्यान दिँदै आएको छ ।

 

 

सुशासन, नवप्रवर्तन र विकास व्यवस्थापनमा अग्रणी बन्दै गएको इलाम नगरपालिका महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक केन्द्रीत सेवामा पनि अब्बल हुँदै गएको छ । इलाम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै, अपाङ्गता मैत्री बनाउन देशभरका स्थानीय तहका लागि प्रेरणाको स्रोत र अनुकरणीय नमूनाका रूपमा अझ मजबुत रूपमा स्थापित गराउने योजना रहेको इलाम नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले बताइन् ।

 

इलाम नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री र व्यावसायिक जीवनयापनका लागि तालिम मात्र दिने गरेको छैन, अपाङ्गता भएका विद्यार्थीहरुलाई अध्ययन् अध्यापन समेत गराउँदै आएको छ । इलाम नगरपालिका–५, बरबोटेमा रहेको बौद्धिक अपाङ्गता आवासीय स्रोत कक्षामा २१ जना अपाङ्गता भएका विद्यार्थीले अध्ययन् गरिरहेको नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले जानकारी दिइन् । उनका अनुसार इलाम नगरपालिलका–४ र ५ मा रहेको अमर माध्यमिक विद्यालयमा समेत केही अपाङ्गता भएका विद्यार्थीे अध्ययनरत् छन् ।

 

 

त्यसैगरी इलाम नगरपालिकाको समन्वय र एसेस प्लानेट अर्गनाइजेसन ललितपुरको आर्थिक सहयोगमा अपाङ्गता भएका ३० जना महिलालाई व्यावसायिक बाख्रापालन तालिम दिइएको छ । भने, नगरपालिकाले २५ जनालाई जनही १० हजारका दरले व्यवसायिक बाख्रापालनका लागि आर्थिक सहयोग गरेको उपप्रमुख लिम्बूको भनाई छ ।

 

 


अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार गरी सहजता बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको इलामले एसेस प्लानेट अर्गनाइजेसन ललितपुरको सहयोगमा ३० जना अपाङ्गता भएका महिलाहरुलाई विपद् व्यवस्थापन सम्बन्धी २ दिने तालिम दिइएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।

 

 

शाखा अधिकृत गौरा भट्टराईका अनुसार एसेस प्लानेट अर्गनाइजेसनकै आर्थिक सहयोगमा ३४ जना अपाङ्गता भएका महिलाहरुलाई न्यानो कपडा समेत वितरण गरिएको छ । यसरीनै अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाले अपाङगता भएका २४ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

 

 

नगरपालिकाले उनीहरुलाई सहयोगी सामग्रीहरु पनि सहयोग गर्दै आएको छ । महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखा अधिकृत गौरा भट्टराईका अनुसार अपाङ्गता भएका १५ जनालाई ह्विल चियर, १२ जनालाई वाकिङ स्टिक, ३ जनालाई सेतो छडी, ७ जनालाई कम्बोट चेयर, ५ वटा एयर भेट्रिक्स, ३ जनालाई बैशाखी, १० जनलाई श्रवण यन्त्र वितरण गरिएको छ ।

 

इलाम नगरपालिकाको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखा अधिकृत गौरा भट्टराईका अनुसार अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारलाई व्यावसायिक सीप विकास तालिम दिएर नगरपालिकाले व्यावसायिक बेमौसमी तरकारी खेतीमा अग्रसर गराउँदै आएको छ । शाखा अधिकृत भट्टराईले भनिन्, ‘व्यावसायिक सीप विकास तालिम अन्तर्गत १२० जनालाई व्यावसायिक बेमौसमी तरकारी खेती तालिम दिएर बीउविजन समेत उपलब्ध गराएका छौं ।’

 

अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारलाई निरन्तर सेवा तथा परामर्श सेवा समेत नगरपालिकाले दिँदै आएको छ । यसरी अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारलाई सेवा तथा परामर्श दिने क्रममा नगरपालिकाले इलाम नगरपालिका–६ का ५६ जनालाई मानसिक मनोपरामर्श तथा वित्तीय साक्षरता तालिम उपलब्ध गराएको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।
कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई जनही १० हजारका दरले उद्यम विकासका लागि नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

 

अपाङ्गता भएका व्यक्तिहरुको सहयोगमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको इलामले अपाङ्गता भएका व्यक्तिहरुलाई घुम्ती शिविर मार्फत परिचय–पत्र वितरण गर्दै आएको छ । यसरी परिचय पत्र वितरण गर्नेक्रममा पूर्ण अशक्त अपाङ्ग व्यक्तिहरुलाई घरमै परिचय पत्र वितरण गर्ने गरिएको शाखा अधिकृत भट्टराईले बताइन् ।

 

अपाङगता सहायता कक्ष सञ्चालन गरी निरन्तर सेवा तथा परामर्श सेवा दिँदै आएको उनले सुनाइन् । उनले भनिन्, ‘इलाम नगरपालिकाले अपाङ्गता भएका ३० जनालाई स्वास्थ्य उपचारका लागि सहयोग कार्यक्रमबाट स्वास्थ्य बिमा समेत गरिदिएको छ ।’

 

 

इलाम नगरपालिकामा छ सय ४२ जना अपाङ्गता भएका व्यक्तिहरुको बसोबास रहेको अपाङ्गता सहजकर्ता नीरबहादुर गजमेरले बताए । महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाका अनुसार इलाममा अपाङ्गता भएका छ सय ४२ जना मध्ये रातो अपाङ्गता परिचयपत्र वाहक ९९ जना, निलो अपाङ्गता परिचयपत्र वाहक दुई सय ७५ जना, पहेंलो अपाङ्गता परिचयपत्र वाहक एक सय ६८ जना र सेतो अपाङ्गता परिचयपत्र वाहक १०० जना रहेका छन् ।

 

 

समुन्नत इलाम सम्पन्न इलामेली भन्ने नारा बोकेको इलाम नगरपालिकाले अपाङ्गता भएका व्यक्ति वा तिनका परिवारको सहयोगका लागि विभिन्न तालिम र अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसरी अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायिक क्षेत्रमा अगाडि बढाउने क्रममा गत असार ११ देखि १३ गतेसम्म ३ दिने व्यावसायिक साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।

 

 

अपाङ्गता भएका व्यक्तिहरुको सहायताको लागि अग्रणी इलाम नगरपालिकाले वेवारिसे तथा वेपत्ता भएका बालबालिकाहरुको सहयोगको लागि अल्पकालिन आश्रयस्थल निर्माण गरेको छ । सो आश्रयस्थल इलाम जिल्लाको १० वटै पालिकाको समन्वय र सहयोगमा सञ्चालनमा ल्याइएको शाखा अधिकृत भट्टराईले बताइन् । उनले भनिन्, ‘बेसहारा र वेपत्ता भएका बालबालिका, महिला र ज्येष्ठ नागरिकको सहयोगका लागि गत वर्षदेखि सञ्चालनमा आएको आश्रयस्थलबाट १८ जनालाई सेवा दिइएको छ ।’

 

उनका अनुसार यो अल्पकालीन मात्र भएकोले दीर्घकालीन आश्रय स्थलमा पठाउनुपर्ने अवस्था आएमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर त्यस्तो सेवाग्राहीलाई विराटनगर पठाउने गरिएको छ ।

 

अपाङ्गता र बालबालिकाको सहायताको विषयमा अग्रणी रहँदै आएको इलामले महिलाहरुको क्षमता विकासको लागि पनि विभिन्न कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।
यसका लागि नगरपालिका परिसर भित्रका टोल विकास संस्थाहरुलाई परिचालन गरेर घरेलु हिंसा अन्त्यका लागि वहस पैरवी लैङिग्क समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ । यसका लागि इलामको २, ८, ९ र १० वडामा उपप्रमुख महिला विकास कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । बाँकी वडामा कार्यक्रम सञ्चालन गर्न विनियोजन गरिएको बजेट विपत् व्यवस्थापनमा खर्च भएकोले चालु आर्थिक वर्षमा अन्य वडाहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न नसकिएको उपप्रमुख लिम्बूले बताइन् ।

 

बालमैत्री घोषणा मापदण्डको सबै सूचकहरु पूरा गरेर इलाम नगरपालिकाले–४ लाई बालमैत्री वडा घोषणा गरिसकेको छ । गत आर्थिक वर्षमा तयारी गरेर घोषणा गर्न बाँकी रहेका वडाहरु १, २, ५ र ६ मा बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम तयारी रहेको छ ।

 

 

भने, इलामको ३, ७, ८, ९, १०, ११ र १२ वडाहरुमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालनमा रहेको छ । उप प्रमुख विष्णुकुमारी लिम्बूका अनुसार सबै वडाहरुमा बालमैत्री घोषणा गरी सकेर नगरपालिकालाई पनि बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको छ ।

 

 

बालबालिकाको हक अधिकारलाई सम्बोधन गर्दै बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन २०७८/०७९ अनुसार ५१ वटा सूचक पूरा गर्न नगर बाल सञ्जाल गठन गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगर बाल सञ्जाल गठन गरेर ३ वर्ष यता बालबालिकाको हक हितका लागि नगरपालिकाले आवश्यक योजना तर्जुमा गर्दै आएको छ । यसका लागि इलामको प्रत्येक विद्यालयमा विद्यालय बाल क्लब, वडास्तरमा वडा बाल सञ्जाल र नगरपालिकामा नगर बाल सञ्जाल गठन हुने गरेको छ ।

 

 

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न व्यावसायिक तालिम, परामर्श सेवा तथा अभिमुखीकरण तालिम दिँदै आएको इलाम नगरपालिकाले लागू औषध, चेलीबेटी बेचविखन र लैङिगक हिंसा सम्बन्धी सचेतना कार्यक्रमहरु पनि नियमित सञ्चालन गर्दै आएको छ । नगरभित्रका प्रत्येक विद्यालयमा गएर विद्यार्थीहरुमा लागू औषध, चेलीबेटी बेचविखन र लैङिगक हिंसा सम्बन्धि सचेतना जगाउने कार्यक्रम गरिएको शाखा अधिकृत भट्टराईले जानकारी दिइन् ।

 

 

महिलाहरुको व्यावसायिक सीप विकास गर्न र ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन नगरपालिकाले महिला समन्वय समिति र ज्येष्ठ नागरिक समन्वय समिति बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनीहरुको आवश्यकता र माग अनुसार कार्यक्रम गर्न दुवै समितिलाई ४ लाखको दरले बजेट विनियोजन गरिएको उपप्रमुख लिम्बूले बताइन् ।

(नेपाल पत्रकार महासंघ इलाम र इलाम नगरपालिकाले प्रदान गरेको लेखनवृति अन्तर्गत तयार पारिएको सामग्री)

 

सम्बन्धित खवर