युरोकप : इटाली, वेल्स र रुसको जित, इटाली नकआउट चरणमा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : इटाली, वेल्स र रुसको जित, इटाली नकआउट चरणमा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि युरोकप फुटबल १६ औं संस्करण अन्तरगत इटालीे नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति ओलम्पिक स्टेडियम रोममा भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।

इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे भने सिरो इमोबाइलले एक गोल गरे ।

खेलको २६ औं मिनेटमा डोमिनिको बेरार्डीको पासमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले निकोलो बरेलाको पासमा डिबक्स बाहिरबाट उत्कृष्ट व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा राफेलको पासलाई सदुपयोग गर्दै इमोबाइलले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए ।

यससँगै समूह ‘ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ ।

वेल्सको पहिलो जित

वेल्सले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।

बाकु ओलम्पिक स्टेडियममा बुधबार राति भएको खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।

वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । खेलको ४३ औं मिनेटमा कप्तान ग्यारेथ बेलको पासमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा बेलको पासमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २–० को जित दिलाए ।

तर, ६१ औं मिनेटमा कप्तान बेलले पेनाल्टीमा गोल गर्न सकेनन् । जेकी सिलिकले पेनाल्टी क्षेत्रमा बेललाई लडाएपछि वेल्सले पेनाल्टीको मौका पाएको थियो ।

बेलको पेनाल्टी पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो । यससँगै बेल युरोकपमा पोस्टको फ्रेम भन्दा बाहिर पेनाल्टी प्रहार गर्ने दोस्रो खेलाडी बने । यस अघि स्पेनका राउलले सन् २००० को युरोमा फ्रान्सविरुद्ध फ्रेम भन्दा बाहिर पेनाल्टी प्रहार गरेका थिए ।

बेल प्लेयर अफ दि म्याच चुनिए । यस जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोडेको छ । र, वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

रुसको पहिलो जित

रुसले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।

रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा आर्टम ज्यूबाको पासमा मिरानचुकले निर्णायक गोल गरे ।

त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित खवर