युरोकप : बेल्जियम र नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युरोकप : बेल्जियम र नेदरल्यान्ड्स नकआउट चरणमा प्रवेश

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारि१६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति पार्केन स्टेडियम कोपनहेगनमा भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो ।

डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ । बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रूएनाले एक एक गोल गरे । यस्तै डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पिएरे इमिलको पासमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाएका थिए ।

तर, ब्रुएना चम्किदा दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो । खेलको ५५ औं मिनेटमा ब्रुएनाको पासमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा कप्तान इडेन हाजार्डको पासमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए । चोटका कारण ब्रुएनाले पहिलो खेल गुमाएका थिए ।

जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

डेनमार्कको यो लगातार दोस्रो हार हो । अंक विहीन रहदै पुछारमा रहेको डेनमार्कको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेदरल्यान्ड्स नकआउट चरणमा

नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति जोहन क्रुफ एरिनामा भएको खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे । घरेलु मैदानमा खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।

नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । अष्ट्रियाको यो पहिलो हार हो । अष्ट्रिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

 

सम्बन्धित खवर