संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो महाधिवेशन धरानमा हुने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो महाधिवेशन धरानमा हुने

दमक । आगामी मङसिर २६ र २७ गते सुनसरीको धरानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो महाधिवेशन हुने भएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष कुमार लिङ्देनले सो जानकारी गराएका हुन् ।

संघीय पत्रकार मञ्च, नेपालका संयोजक एमव् सञ्चार विभाग प्रमुख दिल कुमार लावतीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देन पार्टीका शीर्ष नेतागणसहित सहभागी भएका थिए ।

मञ्चको महाधिवेशन अघि प्रन्तीय समितिहरुको महाधिवेशन सम्पन्न गर्ने मिति विज्ञप्तिमार्फत सार्वजनिक गर्दै उनले पार्टी गतिविधि तिव्र पारिएको जानकारी दिएका हुन् ।

जारी महाधिवेशनको मिति अनुसार मञ्चअन्तर्गतका प्रन्तीय मञ्च (समिति)हरुको महाधिवशेन क्रमशः मधेश मङसिर ८, खसान मङसिर १०, तमुवान मङसिर १०, थरुहट मङसिर ११, मगरात मङसिर १४, शेर्पा मङसिर १४, किरात खम्बुवान मङसिर १६, तामाङसालिङ मङसिर १८, नेवा ः मङसिर १९, लिम्बुवान मङसिर २४ र २५ र दलित मुक्ति प्रान्तीय मञ्च महाधिवेशन मङसिर २५ गतेका लागि तोकिएका छन् ।

विज्ञप्तिमा जनाइए अनुसार अध्यक्ष लिङ्देनको संयोजकत्वमा तेस्रो संघीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति गठन गरेको मञ्चले लिङ्देनकै संयोजकत्वमा ज्ञान बहादुर गुरुङ, ज्ञानुहाङ इम्बुङ, चन्द्र खापुङहाङ, यलम्बर खम्बू, टेन्डी शेर्पा, रमेश गजमेर, रघुवीर ठगुन्ना र मिङमार लामा सदस्य रहेको राजनैतिक घोषणापत्र र विधान मस्यौदा समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

महाविधेशन अनुगमन, समायोजन कार्यदल समितिको संयोजकमा विशेन्द्र चेम्जोङ रहेका छन् भने आर्थिक व्यवस्थापन समिति संयोजकमा विष्णु यक्सो, महाधिवेशन प्रचारप्रसार समिति संयोजकमा सुरेन्द्र नोनाम छन् ।

त्यस्तै महाविधेशन प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति संयोजकमा दिल कुमार लावती, व्यवस्थापन समिति संयोजकमा एबी पन्धाक, विदेश विभाग समिति संयोजकमा चन्द्र कुमार लिङ्देन, स्वास्थ्य उप–समिति संयोजकमा भुपेन्द्र सुन्दर लावती, स्वयम् सेवक उप–समिति संयोजकमा थाङसाङ् लावती, संसदीय दलका प्रमुख एबम् पार्टी प्रमुखहरुलाई निमन्त्रणा समिति संयोजक बिष्णु तुम्बाहाम्फे, अतिथि सत्कार समिति संयोजकमा रमेश गजमेर, सुरक्षा उप–समित संयोजकमा गजेन्द्रमान चोङ्बाङ् क्याकलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।

महाधिवेशनमा प्रतिनिधित्वका लागि प्रतिनिधि संख्या भने कोभिड संक्रमणको स्थिति हेरेर ६ सयदेखि १ हजार जना भित्र कायम गरिने मञ्चले जनाएको छ । प्रान्तीय मञ्चहरुले भने आफै प्रतिनिधि संख्या निर्धारण गर्ने बताइएको छ ।

महाधिवेशनमा संघीय मञ्चका संघीय समितिका सबै पदाधिकारी लगायत संघीय सदस्य, १० प्लस १ प्रान्तका सबै प्रान्तीय समितिका पदाधिकारीहरु, जिल्ला र स्थानीय पालिकाहरुबाट महाधिवेशन प्रतिनिधि छनौट हुने बताइएको छ । यस पटक मञ्चको संघीय अध्यक्ष समेत वडाले नै अनुमोदन गरेर महाधिवेशन प्रतिनिधि हुनुपर्ने मञ्चले जनाएको छ ।

कार्यक्रमको सहजीकरण संघीय मञ्चका संघीय सचिव तथा लिम्बुवान प्रान्तीय महासचिव अशोक चेम्जोङले गरेका थिए ।

सम्बन्धित खवर