काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पहिलो पटक चितवन टाइगर्सले जितेको छ ।
शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
उपाधि जितेसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ ।
फाइनलमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा भिम सार्कीले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे ।
पोखराका किशोर महतोले ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो ।
पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे ।
विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।
पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले २० रन खर्चेर ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २÷२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १÷१ विकेट रह्यो ।
सागर बने प्लेयर अफ द सिरिज
यसैगरि चितवन टाइगर्सका बलर सागर ढकाल चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा प्लेयर अफ द सिरिज चुनिएका छन् ।
चितवनलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका स्पिनर सागर प्लेयर अफ द सिरिज चुनिएका हुन् । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए ।
प्लेयर अफ द सिरिज बनेसँगै सागरले बजाज पल्सर एनएस २ सय सिसीको मोटरसाइकल प्राप्त गरेका छन् ।
यस्तै चितवनका भीम सार्की इमर्जिङ प्लेयर चुनिएका छन् भने चितवनकै कमलसिंह ऐरीले ‘डेर टु ड्रिम’ अर्वाड पाएका छन् । उनीहरु दुबैले समान ५१ हजार नगद प्राप्त गरे ।