काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा पहिलो जित हात पारेको छ ।
मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो ।
भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा इन्दु बर्माले अविजित १८ रन जोडिन भने सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् ।
भुटानकी टासी छेकीले एक विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो ।
भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् । सिताले चार ओभर बलिङ गर्दै १० रन खर्चेकी थिइन् । करुणा भण्डारीले एक विकेट लिइन् ।
यस जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ भने नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।