प्रथम अध्यक्षकप : धुलाबारीलाई हराउँदै एपीएफ पकली फाइनलमा - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम अध्यक्षकप : धुलाबारीलाई हराउँदै एपीएफ पकली फाइनलमा

कमल । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफ पकली सुसनरी प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपीएफले कम्तिमा १ लाख सुरक्षित गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा धुलाबारी फुटबल एकाडेमी झापालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ पकलीले फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा धुलाबारीका लागि विशाल दर्जीले मात्र गोल गर्न सफल भए । सन्तोष परियारको प्रहार एपीएफका गोल रक्षक दिलकुमार लिम्बुले बिफल पारिदिए । सन्देश खवास र अविनाश चौधरीको प्रहार पोष्ट बाहिरिएको थियो ।

एपीएफ पकलीका सन्तोष कटुवाल, दिवस गिरी र सविन थापाले टाइब्रेकरमा गोल गर्न सफल भए ।

दोस्रो सेमिफाइनल अन्तर्गतको खेलमा २१औं मिनेटमा धुलाबारीका सन्तोष परियारले २३ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार पोष्टबारमा ठोकिएर बल रिवाउन्ड भएको थियो ।

३८ औं मिनेटमा एपीएफका तपन कार्कीको क्रसलाई एपीएफका शैलेन्द्र राईले सदुपयोग गर्न सकेन । दोस्रो हाफको २२ औ. मिनेटमा पोष्ट भित्रको बललाई धुलाबारीका डिफेन्डर विशाल दर्जीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनेटमा एपीएफले पाएको फ्रिकिक रोमन भुजेलले प्रहार गरेको बललाई धुलाबारीका गोलरक्षक विपिन चौधरीले बचाउ गरे ।

निर्धारित समयमा गोल रहित बराबरी रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

सोमबार भएको खेलको प्लेयर अफ दि म्याच धुलाबारीका विशाल दर्जी घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ । अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित खवर