असार ३०, काठमाडौ । नेपाल पुलिस क्लबले सातौं संस्करणको महिला तथा पुरुष एनभिए क्लब भलिबलमा महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो ।
एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५-१२ ले जित्दा दोस्रो सेट २१-२५ ले गुमाएको थियो।
यस्तै तेस्रो सेट पुलिसले २५-२३ ले जित्यो। त्यस्तै चौथो सेट २५-१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो ।
प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ । उपाधि सहित पुलिसले ६ लाख रुपैयाँ नगद जितेको छ । उपविजेता बनेको एपीएफले ३ लाख रुपैयाँ नगत जितेको छ ।
यसैगरि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको पुरुष तर्फको खेलमा आफ्नो अविजित यात्रालाई कायम राख्दै हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुष तर्फको उपाधि उचालेको छ ।
हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट पुलिसले २५–११ ले जित्यो । तेस्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि जित्यो ।
उपाधिका साथ हेल्प नेपालले नगद ६ लाख रुपैयाँ र उपविजेता पुलिसले ३ लाख रुपैयाँ पाएको छ ।