मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव यसरी मनाइँदै - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव यसरी मनाइँदै

मंसिर १६, माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको तयारी यसरी गरिँदै छ । विगतका वर्षझैं यस वर्षपनि इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो ।

जन्मोत्सव कार्यक्रमको तयारी धमाधम भईरहेको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोह समितिले जनाएको छ ।

जन्मोत्सव समारोह अन्तर्गत सावायेहाङका लागि साक्मुरा वादेम्मा, येत् नाम्धुङ लाधुङ सेमी सेवा, आत्मानन्द कम, अङसीमाङज्यूको आशीर्वचन, नुमाङगेन्ना सेवासँगै यस वर्षदेखि सावायेहाङ नुमाङगेन्ना कार्यक्रम पनि जोडिएको नुमाङगेन्ना महान सेवा समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ ।

खेलकुद विभाग संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङका अनुसार नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनल खेल आइतबार हुदैंछ भने पहिलो पटक आयोजना गरिएको भलिबल प्रतियोगिताको फाईनल खेल आज(शनिबार) हुँदैछ ।

महान समारोह माङसेवा विभागका संयोजक तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अनुसार मंसिर १६ गते साक्मुरा वादेम्मा सेवा र १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुड लाधुङसेमी सेवा सञ्चालन हुनेछ ।

कार्यक्रम अन्तर्गत मंसिर १८ गते प्रमुख अतिथिबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङको भनाई छ ।

समारोहका अध्यक्ष योङहाङका अनुसार यस वर्षदेखि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको छ । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गर्नुपर्ने छ ।

कार्यक्रमको बारेमा थप्नुहुँदै समारोहका अध्यक्ष केहेरसिं योङहाङले नुमाङगेन्ना सेवाको अवसरमा सम्पूर्ण यस वर्षदेखि प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ ।

समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिता सञ्चालन हुने छ ।

शुभजन्मोत्सवमा स्थानीय बिदा

इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ शुभजन्मोत्सवमा सार्वजनिक विदा दिने भएको छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचना अनुसार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो ।

 

सम्बन्धित खवर