धर्मलाई बचाए, धर्मले बचाउँछ : सेइङ - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धर्मलाई बचाए, धर्मले बचाउँछ : सेइङ


ज्ञानु केदेम लिम्बू
माङसेबुङ/धर्मलाई बचाएपछि धर्मले हामीलाई बचाउने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

सो कुरा वहाँले सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण समारोहमा सोमबार आशीर्वचन दिनुहुँदै बताउनु भएको हो ।

‘झैझगडानै संसार अन्त्यको संकेत हो’ वहाँले भन्नुभयो ‘संसारका विकसित मुलुकहरु खतरामा रहेका छन् अबको एक सय वर्षपछि अमेरिकाको नामनै रहँदैन ।’ अङसीमाङले थप्नु भयो, ‘संसारमा आगोको शक्ति बढेर धेरै नष्ट पार्ने र स साना मुलुकहरुलाई पनि समुन्द्रले ढाक्ने सम्भावना रहेको छ ।’

विश्व युद्ध हुने र भूकम्पसँगै ज्वालामुखी आउने सम्भावना रहेकोले वहाँले संकेत गर्नुहुँदै, पृथ्वीको आयू बढाउन संसारका सबै धर्म दर्शनका धर्मगुरु, योगी, सन्त र राजनीतिक नेताहरुले विशेष पहल गर्नु पर्नुपर्ने आग्रह गर्नुभएको छ । अङसीमाङले भन्नुभयो ‘पृथ्वीको आयू बढाउन ठूलाठूला नाम्धुङ लाधुङ सेमी सेवाहरु सञ्चालन गर्नु पर्छ ।’ आशीर्वचनकै क्रममा वहाँले भन्नुभयो ‘अर्गा्निक खानपिन उपभोग गरेर सेवा गर्नाले पृथ्वीको आयू बढ्नेछ ।’

समारोहको दोस्रो दिन सोमबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट अमृतमय आशीर्वचन, अङसीमाङ तथा अङसीमामाङ समक्ष माङ मिक्तोक हस्तान्तरण साथै धन्यवाद पत्र वितरण समेत गरिएको थियो । त्यसैगरी कृति विमोचन र माङवा हाङवा वितरण पनि गरिएको समारोहले जनाएको छ ।
कार्यक्रममा गायक राजु आङदेम्बे, जेपी नेम्वाङ, गायिका सुनिता थेगिम, थोक्फेला लिङ्देन लगायतले सांगीतिक प्रस्तुति दिएका थिए । थोक्फेला गार्मेटद्वारा फेसन शो समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समारोह सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन पान्जुम्भोबाट स्वागत नृत्य प्रस्तुत गरेका थिए । भने, साँझ पनि भव्य सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने साक्थिम्गेन पान्जुम्भोले जनाएको छ ।

समारोहका महासचिव काकीराम लाओतीले सञ्चालन गरेको थियोे भने, समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

सम्बन्धित खवर