सात प्रदेशले सङ्घीयताको मर्मलाई सम्बोधन गर्दैन- अशोक राई - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सात प्रदेशले सङ्घीयताको मर्मलाई सम्बोधन गर्दैन- अशोक राई

दमक/समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा र कांग्रेसले ल्याएको सात अन्चलको कथित सङ्घीयता आफूहरुलाई मान्य नहुने बताएका छन् ।

आइतबारबाट उदयपुरको गाइघाटमा सुरु दुई दिने पार्टी प्रशिक्षणमा बोल्दै नेता राईले भने नेकपा र कांग्रेसले सङ्घीयताको नाउँमा साबिकको १४ अन्चललाई घटाएर सात अन्चलमा रूपान्तरण गरेका छन् । नाम बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम राखेका छन् । यसले सङ्घीयताको मर्मलाई सम्बोधन गर्न सकेको छैन ।

देश सङ्घीयतामा गैसकेको अवस्थामा संविधानमै मातृभाषालाई राष्ट्रिय भाषाको रूपमा स्वीकार गरिसक्दा पनि राज्यले मातृभाषाहरुलाई प्रयोगमा ल्याउन नसक्नु दुखद भएको राईले टिप्पणी गरे ।
उनले मातृभाषाको प्रयोग नहुँदा लोप भएर जाने खतरा बढेको औंल्याए ।

त्यस्तै नेता राईले न्यायपालिकाको संरचना एकात्मक किसिमको भएको भन्दै यसलाई सङ्घीयताको ढाँचामा लैजानुपर्ने बताए । सर्वोच्च अदालतमा २५ हजार मुद्दा थाँती रहेको भन्दै उनले कम्तिमा देवानी मुद्दाहरुको अन्तिम फैसला गर्ने अधिकार उच्च अदालतहरुलाई दिएर आमजनतालाई न्यायमा पहुँच पुर्याउन सकिने दावी गरे ।

राजपासँगको पार्टी एकीकरण सम्बन्धमा कार्यकर्ताहरुको जिज्ञासाको जवाफ दिँदै उनले भने दुवैतर्फबाट पार्टी एकताको निम्ति जुन पहलहरु भएका थिए, अवस्था त्यस्तै छ । आशा गरौं, भर नपरौं ।

समाजवादी पार्टी र अन्य पार्टीबीचको भिन्नता बारे बोल्ने क्रममा वरिष्ठ नेता राईले नेकपा र कांग्रेस नामले फरक जस्तो लागे पनि कार्यशैलीका हिसाबले एकै भएको र सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसक्ने पार्टीहरु हुन् भन्दै आलोचना गरे ।

समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको आयोजनामा सुरु प्रादेशिक प्रशिक्षणमा पार्टीका सह(अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, पर्शुराम खापुङ, महासचिव रणध्वज कन्दङ्वा, सचिव पर्शुराम बस्नेत लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको समाजवादी पार्टी प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।

पार्टीको ३ महिने विसु अभियान अन्तर्गत सोमबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय तह, प्रदेश तह, जिल्ला नेता र जनवर्गीय संगठनका नेता सहभागी छन् ।

सम्बन्धित खवर