पाँचथर / संविधान संसोधन गरी पहिचानका आधारमा १० जोड १ प्रदेशको संघीयता स्थापनाका लागि संघर्षरत दुई राजनैतिक पार्टीको जिल्ला नेतृत्वले पार्टी एकताका लागि नेतृत्वलाई दवाव सुरु गरेका छन् ।
जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लम्बुवान मंच पाँचथरले शनिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पार्टी एकताका लागि नेतृत्वलाई सांकेतिक रुपमा दवाव सुरु गरेका हुन् ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण लावती र संघीय लिम्बुवान मंचका अध्यक्ष सागर केरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा पहिचान पक्षधर पार्टीको एकता गरी मुलुकको वैकल्पिक राष्ट्रिय राजनैतिक शक्ति निर्माणतर्फ अग्रसर हुन नेता, कार्यकर्ता र जनतामा आह्वान गरेको छ ।
‘फुटाउ र शासन गरको षड्यन्त्रलाई बुझ्न र चिर्न नसक्दा हामीले हाम्रो लक्ष्य प्राप्त गर्न सकिरहेका छैनौं । नश्लीय राज्यसत्ताको तमामखाले षड्यन्त्र र प्रपंचलाई प्रतिरोध गर्दै लक्ष्य प्राप्त गर्नका लागि एकीकृत शक्ति निर्माण गर्न नितान्त जरुरी मात्र होइन, समयको माग समेत हो’ विज्ञप्तीमा भनिएको छ, ‘लिम्बुवान प्राप्तिको एजेण्डा लिएका राजनैतिक शक्तिहरु जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मंचलगायत पहचानवादी शक्तिहरुकोएकता गरी १० प्लस १ प्रदेशको संघीयता प्राप्त गर्न पार्टी एकताको चरणसम्म र्पुयाउन र मुलुकको वैकल्पिक राष्ट्रिय राजनैतिक शक्ति निर्माणतर्फ अग्रसर हुन समेत तमाम नेता, कार्यकर्ता र जनतामा हार्दिक आह्वान गर्दछौं ।’
जिल्ला स्तरमा दुवै पार्टीका कार्यकर्ताहरु पार्टी एकता गर्न इच्छुक भएपनि नेतृत्व तह तयार नभएकाले जिल्लास्तरबाट जनदवाव सिर्जना गर्न थालिएको जनता समाजवादी पार्टीका अध्यक्ष लावतीले बताए । ‘स्थानीय स्तरमा हामी एकता गर्न इच्छुक छौं तर नेतृत्व तहले पहलकदमी गर्न सकेन’ अध्यक्ष लावतीले भने, ‘समयको माग अनुसार एकता गरी वैकल्पिक राष्ट्रिय शक्ति निर्माणका लागि यहीबाट दवाव सुरु गरेका हौं ।’
दुवै दलको राजनैतिक सिद्धान्तमा खासै भिन्नता छैन । जनता समाजवादी पार्टीले ‘सम्मुनत सङ्घीय समाजवाद’ को सिद्धान्त अगाडि सारेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले ‘संघीय सहअस्तित्व, संघीय सामुदायिक समाजवाद, संघीय इकोइकोनोमी’ को सिद्धान्त अघि सारेका छन् ।
दुवै दलले वर्तमान प्रादेशिक संरचना संघीयताको सिद्धान्त विपरित रहेको भन्दै संविधान संसोधन गरी १० जोड १ प्रदेशको संघीयता हुनुपर्ने माग गर्दै आएका छन् ।
दुवै दलले पाहिचानका आधारमा १० प्रदेश लिम्बुवान, किरातरखम्बुवान, शेर्पालुङ, मधेस, नेवा, ताम्सालिङ, तमुवान, मगरात, थरुहटरथारुवान, खसान र एक गैरभौगोलिक दलित (शिल्पी) प्रदेशको संघीयता हुनुपर्ने बताउँदै आएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको नेतृत्व कुमार लिङदेनले गर्दै आएका छन् । जनता समाजवादी पार्टीको भर्खरै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएकाले नेतृत्व टुङ्गिएको छैन । साविक समाजवादी पार्टीको नेतृत्व डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, युवराज कार्कीलगायत तथा राष्ट्रिय जनता पार्टी महन्त ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, रामसहाय यादव, राजकिशोर यादव र अनिल झाले नेतृत्व गर्दै आएका थिए ।