काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
शुक्रबार बंगलादेशको ढाका अवस्थित बंगबन्धु रंगशालामा भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।
पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए ।
बल पोजिसनमा पकड बनाएपनि नेपाल भने घरेलु टिमविरुद्ध गोल गर्न चुकेको थियो । बंगलादेशविरुद्ध विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ ।
२०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।