पपुवा न्युगिनीमाथि नेपालको जित - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पपुवा न्युगिनीमाथि नेपालको जित

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै जीत निकालेको छ ।

मंगलबार ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गर्दै जीत निकालेको हो ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

हारतर्फ अग्रसर नेपाललाई रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए ।

उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

नेपालका लागि कुशलले १५ रन जोड्दा, डेब्यु खेलाडी आसिफ शेखले ३० रन र टिकेर खेलेका रोहित कुमार पौड्यलले ४१ रनको योगदान दिदै नेपालको जितको आधार तय गरेका थिए ।

सोमपाल कामीले अविजित २२ रन जोड्दा यस्तै आरिफ शेखले ९ रन, कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाएर पेभेलियन फर्किए ।
शरद भेषवाकर पनि ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए । बिक्रम सोब सुन्य रनमा अविजित रहे ।

पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डामिन राभुले २÷२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाउदा चार्लेस अमिनीले २३ रन, र गौडी टोकाले २२ रन बनाए ।

किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रन र कप्तान असाद भाला ४ रन जोडे । यस्तै टोनी उरा र नोसिना पोकाना १÷१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।

यस जितसँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

सम्बन्धित खवर